19 March 2019

सरकारी जग्गा कीर्ते गर्ने बाँके र बर्दियाका अधिकृत सहित ८ कर्मचारी पक्राउ

SHARE


स्वागत संवाददाता/नेपालगञ्ज (बाँके) - चैत्र ०५ : सरकारी जग्गा कीर्ते गरेको आरोपमा प्रहरीले ८ जना कर्मचारीहरुलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा सोमबार राती भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ जना कर्मचारीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले नायव सुब्बा रुद्र देवकोटा, टंङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

मालपोत कार्यालय बाँकेबाट सरुवा भएर हुलाक कार्यालय बाँके पुगेका अधिकृत पुष्पा श्रेष्ठलाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत उनीहरु संलग्न रहेको आशंका प्रहरीले गरेको छ । यसबारे केही दिनभित्रै तथ्य बाहिर आउने प्रहरी उपरीक्षक पौडेलले बताए ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका ५ जना कर्मचारीहरु प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित हुने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताए ।
SHARE

Author: verified_user

0 comments: