13 March 2019

२३२ रोजगार संयोजकका लागि बिहिबार आवेदन खुल्दै

SHARE

काठमाण्डौ - फाल्गुण २९ : सरकारले पदपूर्ति हुन बाँकी २३२ स्थानीय तहमा रोजगार संयोजकका लागि बिहीबार पुनः आवेदन खुलाउने तयारी गरेको छ । ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिईएको भए पनी आवश्यकता अनुसार पदपूर्ति नभएपछि पुनः आवेदन खुलाउने तयारी भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताए ।
पुरानै मापदण्डअ नुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्न लागिएको हो । मन्त्रालयले रोजगार संयोजकका लागि गएको माघ १८ गतेसम्म आवेदन मागेको थियो ।  २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए । तीमध्ये २ हजार २ सय ६५ जना उम्मेदवार प्रारम्भिक योग्यता क्रममा छानिएका थिए ।

प्रारम्भिक योग्यता क्रममा छानिएका उम्मेदवारको फाल्गुण ११ र १२ गते अन्तिम छनौटका लागि अनलार्इन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको थियो । परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था गरिएको थियो । तर ७ सय ५३ वटै स्थानीय तहमा एक–एक जना रोजगार संयोजक आवश्यक भए पनि ५ सय २१ जना उत्तीर्ण भएका थिए । मागअनुसार पदपूर्ति हुन नसकेको २३२ वटा स्थानीय तहमा फेरि पुरानै प्रक्रियाबाट पदपूर्ति हुन लागेको हो।

प्रदेश १ मा आवश्यक १३० अधिकृत तहमध्ये ६७ जना मात्र पास भएका छन् भने नायव सुब्बामा ७ जना मागिएकोमा ५ जनाको मात्र उत्तीर्ण भएका छन् । प्रदेश १ मा सुब्बामा २ र अधिकृत तहमा ६३ जनाको पदपूर्ति हुन बाँकी छ । प्रदेश २ का आवश्यक १३६ अधिकृतमा ९८ जनाले मात्र नाम निकालेका छन् भने ११२ सुब्बा चाहिनेमा ९५ जना मात्र उत्तीर्ण भएका छन् । प्रदेश २ मा सुब्बामा १७ र अधिकृत तहमा ३८ जनाको पदपूर्ति हुन बाँकी छ ।

प्रदेश ३ मा ११२ जना अधिकृत तहका कर्मचारी माग भए पनि ९५ जना मात्र पास भएका छन् । प्रदेश ३ मा अधिकृत तहमा १७ स्थानमा पदपूर्ति हुन बाँकी छ । गण्डकी प्रदेशमा पनि ७४ जना अधिकृत तहका कर्मचारी चाहिएकोमा ६१ जनाले मात्र नाम निकालेका छन् ।  गण्डकी प्रदेशमा अधिकृत तहमा १३ जनाको पदपूर्ति हुन बाँकी छ ।

प्रदेश पाँचमा अधिकृत तहमा चाहिने जति उम्मेदवार पास भएका छन् । तर नासू तहमा ६२ जना माग भए पनि २० जनाले मात्र कम्प्युटर परीक्षा पास गरेका छन् । सुब्बा तहमा ४२ जनाको पदपूर्ति हुन बाँकी छ । कर्णाली प्रदेशमा ६२ अधिकृत मागिएकोमा २० जना मात्र उत्तीर्ण भएका छन् भने १७ जना सुब्बा चाहिनेमा ९ जनाले मात्र नाम निकालेका छन् ।  कर्णाली प्रदेशमा अधिकृत तहमा २० र सुब्बामा ८ स्थानमा पदपूर्ति हुन बाँकी छ ।

सुदूरपश्चिममा ८२ जना अधिकृत तहका रोजगार संयोजक मागिएकोमा ३३ जना मात्र उत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशमा अधिकृत तहमा ४९ स्थानमा पदपूर्ति हुन बाँकी छ ।
SHARE

Author: verified_user

0 comments: