10 March 2019

पहाड छाडेर तराई गए पनि दु:खका दिन गएनन्

SHARE
 
कञ्चनपुर – फाल्गुण २६ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ७ का जोगी ठगुन्नालाई बुढेसकालले छोपे पनि तन्नेरीझै डोकोमा सामान राखेर बजार चहार्दै हिँडने गरेका छन् । सात किलो मिटरको यात्रा पैदल नै तय गरेर झलारी, कलुवापुर, वनसमिति र ग्रामीण क्षेत्रमा डोकोमा राखेका कृषि उत्पादन बेच्नु ठगुन्नाको दिनचर्या नै बनेको छ । 

७६ वर्षका ठगुन्ना रहरले नभएर बाध्यताले डोकोमा सामान राखेर घर घर पुरयाएर बेच्ने कार्यमा लागेका हुन् । परिवारको खर्च धान्न ग्रामीण क्षेत्रमा उत्पादन हुने अदुवा, कागती, दाम्लो, तरकारी र फलफुल लगायत खरिद गरी डोकोमा राखेर बजार क्षेत्रमा पुर्‍याएर उनले बेच्दै आएका छन् । ‘पहाडमा भएको जग्गाले खान नपुग्ने भएपछि भारतमा मजदुरी गरी जम्मा गरेको धेरथोर पैसा जम्मा गरी वि.सं. २०५० सालमा सहज जीवनयापनको सपना बोकेर तराई झर्‍यौं’ ठगुन्नाले भने, ‘पहाडमा भएको जग्गा भाइको जिम्मा लगाएर परिवारसहित तराई झरे पनि दुःखका दिन अन्‍त भएनन् ।’ 

‘रु ६० हजार खर्च गरेर जेल भन्ने स्थानमा एक विघा जग्गा खरिद गरेर अब त सुखका दिन आएका छन् भनेर सोचेको थिए’ उनले भने, ‘सस्तो जग्गा पाएको सोचेर मनमनै निकै खुसी थिएँ । जग्गा खरिद गरेको दशक नबित्दै नदीले जग्गा बगाएर विचल्लीमा पार्‍यो। सोही वर्ष श्रीमती बिरामी परिन् । उपचार गराउन नसक्दा मृत्यु भयो । जग्गा बगाएको दुई वर्ष नबित्दै कमाउने छोराको भारतमा मजदुरी गर्न गएका बेला अल्पायुमै मृत्यु भएपछि परिवार पाल्ने जिम्मा मेरै काँधमा आइपरेको छ ।’ 

डोकोकै भरमा परिवार पाँच जनाको परिवार पाल्नु उनका लागि निकै ठूलो चुनौती छ । दैनिक डोकोमा राखेको सामान बेचेर रु दुई सय सम्म उनले कमाउने गरेका छन । कमाई गरेर आएको रकम बाट छाक टरेको छ । नातिको उमेर १८ वर्ष लागेकाले भारतमा कमाउन गएपछि शरीर ढाक्ने कपडा दिन थालेको छ उनले भने, ‘ज्येष्ठ नागरिक भत्तासमेत पाउन थालेकाले औषधिमुलो गर्न सकिएको छ ।’ 

‘दुःख सम्झँदा चाडै मर्छु कि भन्ने पनि लाग्छ तर दुःखी नमर्दो रैछ’ उनले भने । नाति नातिना पनि ठूला हुँदै गएका छन् । नातिको उमेर १८ वर्ष, नातिनीको उमेर १६ वर्ष पुग्नै आटेको छ । आर्थिक अभवाले दुवै जनालाई पढाउन त सकिनँ तर विवाह गरेर मर्न पाए सदगति प्राप्त हुने थियो ठगुन्नाले भने, ‘विवाह गर्न निकै पैशा लाग्छ पैसा कसरी जुटाउने भन्ने पिरलो छ ।’ नातिले भारतबाट कमाएर पठाएको रकमले एक कट्टा जग्गा खरिद गरेर झोपडीमा बस्दै आएका ठगुन्ना पूर्ण रुपमा सुकुम्बासी भएकाले सरकारले जग्गा दिनुपर्ने बताउँछन् ।
SHARE

Author: verified_user

0 comments: