11 March 2019

ट्राफिक प्रहरीले लगायो तीन महिनामा १५४८ सवारी साधनमा ‘ह्वील लक’

SHARE
रासस/काठमाण्डौ – फाल्गुण २७ : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कारवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा ताला) लगाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए ।

‘बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाही स्वरुप ह्वील लक लगाएर कारबाही गरेका हौँ,’ उनले भने । मंसिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको हो । महाशाखाले सडकलाई अवरोध पुर्‍याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु. ५०० देखि एक हजारसम्म जरिवाना गर्दै आएको छ ।
ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाही अन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरण सहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ। महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।
यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन (मापसे) कारवाही, सिसीटिभी कारवाही, गोप्रो बडिवान क्यामरा लगायतका कारवाही गर्दै आएको छ ।
SHARE

Author: verified_user

0 comments: